१२ फाल्गुण, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस बमोजिम फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने औपचारिक निर्णय गरेको हो । फागुन २१ गते देशभर एकैचरणमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मतदाताहरूको सहज सहभागिता सुनिश्चित गर्न सरकारले यस्तो कदम चालेको हो ।
यस निर्णयसँगै निर्वाचनको अघिल्लो दिन, मतदानको दिन र त्यसको भोलिपल्टसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शिक्षण संस्थाहरू बन्द रहनेछन् । निर्वाचन आयोगले मतदान केन्द्रहरू अधिकांश विद्यालयमा रहने र कर्मचारीहरू कार्यक्षेत्रमा खटिनुपर्ने भएकाले तीन दिनको बिदा आवश्यक रहेको सुझाव सरकारलाई दिएको थियो । सरकारको यो निर्णयले उपत्यका बाहिर गएर मतदान गर्ने मतदाताहरूलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।

















