Logo

१२ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक अब तीव्र विकास निर्माणको चरणमा प्रवेश गरेको दाबी गरेका छन्।

हालै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्दै लामिछानेले निर्माण व्यवसायीहरू आत्तिन नपर्ने टिप्पणी गरे। “निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन। अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,” उनले भने, “बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले बाँध्ने होइन। कानुनअनुसार काम गरे कसैले केही गर्दैन।”

धनगढीमा आयोजित चुनावी सभामा बालेनले सडक निर्माणमा ढिलासुस्ती गर्नेलाई कारबाही गरिने चेतावनी दिएका थिए। सोही सन्दर्भमा लामिछानेले कानुनी शासनअनुसार काम हुने स्पष्ट पारे।

त्यसैगरी उनले गगन थापालाई लक्षित गर्दै लामो समय सत्तामा बसेकाहरूले ढिलै गरी विकासका कानुनी जटिलता बुझेको टिप्पणी गरे। “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो,” उनले भने, “त्यो ज्ञान तपाईँहरूसँगै राख्नुहोला।”

लामिछानेले विकास निर्माणका काम दुईदेखि तीन सिफ्टमा सञ्चालन गरिने बताए। “रात–रात काम हुन्छ। उपकरण अभाव भए ल्याउनुस्, आवश्यक प्रक्रिया पूरा गर्नुस्,” उनले निर्माण व्यवसायीहरूलाई आग्रह गरे।

उनले अब नेपाललाई तीव्र विकासको मार्गमा अघि बढाउने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गरे।


सम्बन्धित समाचार