१२ फाल्गुण, काठमाडौं । बहुचर्चित भिजिट भिसा प्रकरणमा मुछिएका फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दीपक भण्डारीलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार भण्डारीलाई ५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो । भण्डारीमाथि अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा २ सय ५७ जना यात्रुलाई गैरकानुनी रूपमा वैदेशिक यात्रा सहज बनाइदिएको गम्भीर आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रअनुसार, अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराई, ग्रिनलाइन होलिडेजका अध्यक्ष बालकृष्ण खड्का र भण्डारीबीचको सेटिङमा भिजिट भिसाको आवरणमा मानिसहरूलाई विदेश पठाउने कार्य भएको थियो । यस प्रक्रियालाई सहज बनाउन मोटो रकम घुस लेनदेन भएको दाबी गर्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अदालतको यो पछिल्लो आदेशसँगै भण्डारीले मुद्दाको पुर्पक्ष बाहिरै बसेर गर्न पाउने भएका छन् भने सेटिङमा संलग्न भनिएका अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया जारी रहेको छ ।

















