Logo

१३ फागुन, वीरगञ्ज । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट ‘जेनजी’ आन्दोलनको मौका छोपी फरार भएका एक वृद्ध प्रतिवादीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ता टोलका ७४ वर्षीय रामचन्द्र महरा चमार रहेका छन् ।

लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागार सुन्धारामा सजाय काटिरहेका उनी गत भदौ २४ गते देशभर भएको आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका महरा आफ्नै गृह जिल्ला पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ क्षेत्रमा लुकिछिपी बसिरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनमा कारागारको सुरक्षा घेरा तोडेर भाग्ने अन्य व्यक्तिहरूको बारेमा पनि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार महरा कसरी काठमाडौँबाट पर्सा आइपुगे र उनलाई लुकाउन अरू कसैको संलग्नता थियो वा थिएन भन्ने विषयमा पनि थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार