१३ फागुन, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज-२० पटेलनगरमा मंगलबार साँझ भव्य चुनावी सभा सम्पन्न गरेको छ। चुनावी अभियानका क्रममा आयोजित उक्त सभामा स्थानीय मतदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दलका नेताहरूले विगत २० वर्षदेखि विभिन्न बहानामा नेपाली जनतालाई झुक्याउँदै आएको आरोप लगाए ।
‘जनता अब झुक्किँदैनन्’ उम्मेदवार पन्तले सम्बोधनका क्रममा भने, “विगतका दशकौँदेखि नेताहरूले ठुला आश्वासन दिएर जनताको मत लिने तर काम नगर्ने परिपाटी बसाले । अब नेपाली जनता सचेत र जागरूक भइसकेका छन् । यसपटकको निर्वाचनमा कसैले पनि जनतालाई झुक्याउन सक्ने छैनन् ।”
उनले यसपटक क्षेत्र नम्बर १ का जनताले परिवर्तनको पक्षमा मतदान गर्ने र आफ्नो जित सुनिश्चित रहेको विश्वास व्यक्त गरे ।
पटेलनगर चोकमा आयोजित उक्त कार्यक्रममा रास्वपाका नेताहरू जनार्दन सिंह, सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादव लगायतले सम्बोधन गर्दै पार्टीको एजेन्डा र आगामी योजनाबारे प्रष्ट पारेका थिए ।
कृष्ण पासवानले सञ्चालन गरेका उक्त कोणसभामा पटेलनगरका स्थानीय बासिन्दाहरूको ठुलो उपस्थिति थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा रास्वपाले पर्साका विभिन्न स्थानमा आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ ।

















