Logo

१३ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १३, नयाँटोल मुर्लीका ३० जना युवतीहरूका लागि आयोजित दुई महिने सिलाई-कटाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ । ‘उपकार सेवा नेपाल’ को सम्पूर्ण सहयोगमा सञ्चालित उक्त तालिमको समापनसँगै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

विगत लामो समयदेखि सामाजिक उत्थानका कार्यमा सक्रिय उपकार सेवा नेपालले स्थानीय युवतीहरूको जीवनस्तर सुधार गर्ने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको अध्यक्षतामा आयोजित एक विशेष समारोहका बीच तालिम पूरा गरेका ३० जना प्रशिक्षार्थीहरूलाई सीपको प्रमाणपत्र हस्तान्तरण गरियो । कार्यक्रममा संस्थाकी अभिभावक पद्मा देवी सरावगी र सदस्य सुमन बगेडियाले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन सुझाव दिए ।

समापन समारोहमा तालिमका मुख्य प्रशिक्षकहरू खुश्बु प्रबिन र शोनी प्रबिनलाई उनीहरूको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । यस्तै, प्रशिक्षार्थीहरूका तर्फबाट सलमा प्रबिन, सकिला प्रबिन, सजरुन प्रबिन र बिस्मिल्ला प्रबिन लगायतले तालिमबाट आफूहरूमा आत्मविश्वास बढेको बताए ।

तालिममा १५-१५ जनाको दुई समूह गरी कुल ३० जना युवतीहरू सहभागी थिए । संस्थाले यो सीपमूलक कार्यक्रमले उनीहरूको दैनिक जीवनयापनमा सुधार ल्याउने र स्वरोजगारका अवसरहरू सिर्जना गर्ने विश्वास लिएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले उपकार सेवा नेपालले गर्दै आएका यस्ता सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।


सम्बन्धित समाचार