Logo

१३ फागुन,वीरगञ्ज । उज्यालो नेपाल पार्टी का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग) ले मंगलबार पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत घरदैलो अभियानको आयोजन गर्दै स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गर्नुभएको छ।

उम्मेदवार सिंहले यसअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुरली गाउँवीरगंज महानगरपालिका–८ मुरली बगैंचा तथा पानीटंकी टोल मा स्थानीय बासिन्दासँग भेटघाट गर्नुभयो। घरदैलोका क्रममा स्थानीयवासीहरूले सिंहलाई फूलमाला र खादा ओढाएर हार्दिक स्वागत तथा सम्मान गरेका थिए।

भेटघाटका अवसरमा स्थानीय युवाहरू र बासिन्दाहरूले विगतका विभिन्न दल र उम्मेदवारहरूले विकास, रोजगारी र पूर्वाधार सुधारका अनेक प्रतिबद्धता जनाए पनि व्यवहारमा उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको असन्तुष्टि व्यक्त गरेका थिए। साथै, निर्वाचनको समयमा मात्र युवालाई उपयोग गर्ने, रोजगारीको आश्वासन दिने र चुनावपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्ति दोहोरिन नदिने चेतावनी पनि दिएका थिए।

स्थानीय बासिन्दाले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ को काममुखी नेतृत्वको प्रशंसा गर्दै आगामी निर्वाचनमा परिणाम दिन सक्ने नयाँ सोच भएका उम्मेदवारको समर्थन गर्ने अठोट व्यक्त गरेका थिए। यही सन्दर्भमा उनीहरूले उम्मेदवार सिंहप्रति आफ्नो विश्वास र समर्थन रहेको पनि स्पष्ट पारे।

उम्मेदवार सिंहले जनताका आधारभूत समस्यालाई आफू निर्वाचित भएपछि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डा बनाउने बताएका छन्। स्थानीय उद्योग र कलकारखानामा योग्य स्थानीय नागरिकलाई रोजगारी सुनिश्चित गर्ने पनि उनको प्रमुख योजना रहेको उल्लेख गरिएको छ।

सिंहले आफ्नो अनुभवलाई संघीय संसदमा उपयोग गर्ने योजना पनि सार्वजनिक गर्दै, वीरगंज महानगरपालिका वडा नं. २० मा निर्वाचित भएर हासिल गरेको विकास कार्यको अनुभवलाई क्षेत्रीय विकासका मुद्दा प्रभावकारी रूपमा उठाउन प्रयोग गर्ने बताएका छन्। उनले सबै वडामा संरचनागत विकास, सामाजिक पूर्वाधार सुधार, सडक, पानी र बिजुलीको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसमेत राखेका छन्।

कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। स्थानीय बासिन्दाले आगामी निर्वाचनमा सिंहको विजयको कामना गर्दै अग्रिम शुभकामना व्यक्त गरेका छन्। राजनीतिक विश्लेषकहरूले यस घरदैलो अभियानलाई सिंहको जनसंपर्क सुदृढ गर्ने रणनीतिक पहलको रूपमा व्याख्या गरेका छन्, जसले पर्सा–१ मा आगामी निर्वाचनमा मतदातासँग प्रत्यक्ष सम्पर्कको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यस अभियानमार्फत उम्मेदवार सिंहले क्षेत्रीय विकास, रोजगार सृजना र शिक्षा तथा स्वास्थ्यको सुधारलाई प्राथमिकता दिएर आगामी निर्वाचनमा मतदाताको विश्वास जित्ने रणनीति अघि सारेका छन्।


सम्बन्धित समाचार
भर्खरै