१३ फाल्गुण, काठमाडौं । आसन्न फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा दोलखाको राजनीतिक मैदान यतिबेला निकै गरमाएको छ ।
विगतमा वामपन्थीहरूको किल्ला मानिएको यो जिल्लामा यसपटकको भिडन्त जित–हारमा मात्रै सीमित भन्दा पनि परम्परागत विरासत जोगाउने र नयाँ इतिहास रच्ने शक्तिहरूबीचको लगाई हुँदैछ । नेकपा एमालेका तर्फबाट ह्याट्रिक गर्ने दाउमा रहेका हेभीवेट नेता पार्वत गुरुङका अगाडि नेकपा र नेपाली कांग्रेसका उम्मेदवार तगारो बनेर उभिएका छन् भने नयाँ उदय भएको रास्वपा पनि विरासत मेटाउने दाउमा उभेको छ ।
ठुला दललाई रक्षात्मक बनाउँदा कसले मार्ला बाजी ?
एमालेको बलियो र सङ्गठित कार्यकर्ता पङ्क्तिलाई आफ्नो मुख्य शक्ति ठानेका गुरुङलाई पुराना पार्टी र पुरानै अनुहारप्रतिको नागरिक वितृष्णा चुनौतीपूर्ण देखिएको छ । अर्कातर्फ, युवा नेताको रुपमा स्थापित नेकपामा विशाल खड्का निर्वाचनको सफल परिणाम जुनसुकै हालतमा पनि हात पाउने दाउमा छन् । विगतमा प्रदेश सांसद र मन्त्री हुँदा गरेका कामले गर्दा गाउँ-गाउँमा उनको आफ्नै व्यक्तिगत प्रभाव छ ।
पुरानो दलबाट प्रतिनिधित्व गर्ने अर्काे दल कांग्रेस हो । पत्रकारिताको धारिलो पृष्ठभूमिबाट राजनीतिमा आएका अजयबाबु शिवाकोटीलाई वामपन्थी बाहुल्य रहेको यो क्षेत्रमा गैर–वामपन्थी मतलाई कसरी एकीकृत गरी एमालेको गढ भत्काउने भन्ने दाउपेचले निकै व्यस्त बनाएको छ । दोलखामा पुराना दलले नयाँ दललाई प्रतिस्पर्धा मान्नु भन्दा पनि पुरानै दलहरुबीचको प्रतिस्पर्धालाई मुख्य रुपमा लिएका छन् ।
नयाँ शक्तिको चुनौती
दोलखाको यो चुनावी अङ्कगणितमा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले थप कौतुहलता र जटिलता थपिदिएका छन् ।अघिल्लो निर्वाचनमा कम मत पाएर हारेको रास्वपा यो पटक उदायको छ । जसको सिधा असर चुनावी परिणाममा देखिन सक्छ । नयाँ शक्तिहरूको यो बढ्दो प्रभावले वर्षौँदेखि जिल्लामा राज गर्दै आएका ठुला दलहरूलाई रक्षात्मक बन्न बाध्य बनाएको छ।

















