Logo

१३ फागुन,वीरगञ्ज ।नेपाल पत्रकार महासंघ को आयोजनामा वीरगञ्जमा ‘निर्वाचन रिपोर्टिङ र आचारसंहिता’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनको समयमा सञ्चारकर्मीले पालना गर्नुपर्ने व्यावसायिक मर्यादा र आचारसंहिताको महत्वबारे छलफल गर्न आयोजित कार्यक्रममा वक्ताहरूले सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषणमा विशेष जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले निर्वाचनका बेला जनतामा सूचनाप्रति चासो र अपेक्षा बढी हुने उल्लेख गर्दै सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरे। उनले आचारसंहिता आफैँले पालना गर्ने नियम भएको बताउँदै यसको पालना भए मात्र सान्दर्भिकता रहने र बेवास्ता गरे कागजको खोस्टो सरह हुने टिप्पणी गरे। निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचनका लागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मधुसुदन आचार्य ले प्रचलित कानुनले दिएको अधिकार र सीमाबारे स्पष्ट बुझाइ भए आचारसंहिता उल्लंघन नहुने बताए। उनले आचारसंहिता निर्वाचन अवधिमा मात्र नभई वर्षभरि नै लागू हुनुपर्नेमा जोड दिँदै अपुष्ट र हतारमा सम्प्रेषित समाचारले समाजमा जोखिम निम्त्याउन सक्ने चेतावनी दिए।

महासंघका केन्द्रीय सचिव अशोक तिवारी ले पत्रकारिताको मर्यादा जोगाउन महासंघले अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनले विगतमा वीरगञ्जमा पत्रकारिताकै कारण उत्पन्न संवेदनशील परिस्थितिको स्मरण गराउँदै संयमित र सचेत पत्रकारिताको आवश्यकता औंल्याए।

त्यस्तै, विश्व पत्रकार संघ का सहसचिव दीपेन्द्र चौहान ले ‘पेड न्युज’ प्रवृत्तिले आचारसंहिता उल्लंघनको चुनौती थपेको धारणा राखे। केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने ले २०५० सालको वीरगन्ज घोषणापत्रले नै आचारसंहिताको जग बसालेको स्मरण गराउँदै सोही भूमिमा उल्लंघन हुनु लज्जास्पद हुने बताए।

महासंघकी उपाध्यक्ष नितु पण्डित को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा ले गरेका थिए भने स्वागत मन्तव्य पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल ले राखेका थिए। कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार