१४ फागुन, काठमाडौँ । निर्वाचन प्रचारप्रसारका क्रममा बैतडीको डिलासैनीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । मङ्गलबार भएको उक्त झडपमा परी एमाले निकट युवा संघका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका–७ स्थित लेक टोलमा घरदैलो कार्यक्रम गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच भनाभन भएपछि स्थितिले उग्र रूप लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी डिलासैनी-७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन्। जनक एमाले निकट युवा संघका जिल्ला सदस्य हुन् ।
घाइतेहरूको चोटको प्रकृतिबारे जानकारी दिँदै प्रहरी निरीक्षक सिंहले भने, “जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवकको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।”
घटनास्थलमा विवाद बढ्न नदिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको यथार्थ विवरण बुझ्न र दोषीको पहिचान गर्न प्रहरी निरीक्षककै नेतृत्वमा एक विशेष टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच बढ्दो चुनावी प्रतिस्पर्धाले जिल्लाका केही क्षेत्रमा सुरक्षा संवेदनशीलता बढाएको छ। प्रहरीले संयमता अपनाउन र चुनावी प्रचारलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

















