प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा.संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ ।

एमआरआई मेसिन खरिद प्रकरणमा करोडौँको अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको उक्त मुद्दाको पेसी विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको इजलासमा तोकिएको हो । यस मुद्दामा तत्कालीन पदाधिकारीदेखि आपूर्तिकर्तासम्मलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारको अनुसन्धानले प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा कुनै गुरुयोजना र वास्तविक आवश्यकताको पहिचान नगरी बजेट माग गरिएको र निश्चित कम्पनीलाई लाभ पुग्ने गरी खरिद प्रक्रिया अघि बढाइएको निष्कर्ष निकालेको छ । सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै लुम्बिनी हेल्थकेयर प्रा.लि.का सर्तहरूसँग मेल खाने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको र कम गुणस्तरको मेसिन खरिद गरी राज्य कोषमा ठुलो नोक्सानी पुर्‍याइएको आरोप प्रतिवादीहरूमाथि लागेको छ ।

आयोगले यस प्रकरणमा कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको सजाय र हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न मागदाबी गरेको छ । प्रतिवादीहरूमा तत्कालीन उपकुलपति भण्डारी, का।मु। रजिष्ट्रार झन्कार लामिछाने, विभिन्न तहका इन्जिनियरहरू, कर्मचारीहरू र आपूर्तिकर्ता कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवाली समेत रहेका छन् । आजको सुनुवाइले यस बहुचर्चित भ्रष्टाचार मुद्दालाई कुन दिशामा लैजान्छ भन्ने चासो सर्वत्र देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै