प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाएका छन्।

यसैक्रममा उनले वीरगन्ज महानगरपालिका वडा नम्बर ३०, लालपर्सामा आयोजित कोणसभालाई सम्बोधन गर्दै मतदातासमक्ष आफ्नो एजेन्डा प्रस्तुत गरेका छन्। दीपेन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार पन्तले देशमा ठोस परिवर्तनका लागि मतदाताले यसपटक आफ्नो मत परिवर्तन गर्नुपर्नेमा जोड दिए।

उनले पुरानै राजनीतिक शैलीबाट देशको समुचित विकास सम्भव नभएको उल्लेख गर्दै नयाँ सोच र स्पष्ट भिजनसहित रास्वपा चुनावी मैदानमा उत्रिएको बताए। “जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धतासहित हामी अघि बढेका छौं,” उनले भने।

कार्यक्रममा रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानले सञ्चालन गरेका थिए। कार्यक्रममा स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुरलगायतले आ–आफ्नो धारणा राख्दै यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनीहरूले क्षेत्रको विकासका लागि पन्तको विकल्प नभएको दाबी गरे।

त्यसैगरी, वीरगन्ज महानगरपालिका वडा नम्बर २, घुसुकपुरमा पनि उम्मेदवार पन्तले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। रास्वपा नेताहरू महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा भएको सो कार्यक्रममा स्थानीय बासिन्दाले पन्तलाई स्वागत गरेका थिए।

घरदैलोका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पुऱ्याउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा पन्तले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै