प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । आगामी निर्वाचनमा मतदाता नामावलीमा नाम भएका नागरिकहरूले मतदाता परिचयपत्र नभए पनि अन्य आधिकारिक सरकारी कागजातका आधारमा मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को प्रावधानलाई स्पष्ट पार्दै मतदान प्रक्रियालाई सहज बनाउन यस्तो निर्णय गरेको हो । निर्देशिकाको दफा ४३ र ८४ अनुसार मतदाताले मतदान केन्द्रमा जाँदा आफ्नो परिचयपत्र साथमा लैजानुपर्ने भए पनि, विशेष परिस्थितिमा वैकल्पिक कागजातलाई मान्यता दिने व्यवस्था मिलाइएको छ ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका वा साथमा नभएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि एउटा सक्कल कागजात देखाएर आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यो निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मतदान स्थलमा खटिने सुरक्षाकर्मी, कर्मचारी र अन्य सरोकारवालाहरूलाई समेत सूचित गरिसकेको छ ।

यस व्यवस्थालाई देशभर कडाइका साथ लागू गर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन जारी गरेको छ । आयोगको यस कदमले परिचयपत्रको अभावमा कोही पनि नागरिक आफ्नो लोकतान्त्रिक हक प्रयोग गर्नबाट वञ्चित हुनु नपर्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार