प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को चुनावी सरगर्मी उत्कर्षमा पुगिरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवार रञ्जित तामाङलाई दृढताका साथ मैदानमा खटिन निर्देशन दिएका छन् ।

पछिल्लो समय प्रचण्डले विदेशी शक्ति र दलालहरू विरुद्ध पुराना सहयात्री दलहरूसँग मिल्न सकिने भनी दिएको अभिव्यक्तिका कारण झापा–५ मा पनि अर्कै समीकरण बन्ने हो कि भन्ने आशङ्का र अफवाह फैलिएको थियो । सोही भ्रमलाई चिर्न प्रचण्डले बिहीबार तामाङलाई टेलिफोन गर्दै बजारिया हल्लाको पछि नलाग्न र झापा–५ कसैलाई नछोडिने अडान दोहोर्‍याएका हुन् ।

उम्मेदवार रञ्जित तामाङले प्रचण्डसँगको संवाद उद्धृत गर्दै दिएको जानकारी अनुसार, नेतृत्व तहमा कुनै पनि प्रकारको एलाइन्सबारे छलफल नभएको र नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने तय भएको छ । तामाङले अध्यक्ष प्रचण्डलाई झापाको चुनावी वस्तुस्थितिको रिपोर्टिङ गराउँदै पूर्वमा एउटा विशाल चुनावी सभा आयोजना गर्न र त्यसमा सहभागी हुन निम्तो समेत दिएका छन् ।

रञ्जित तामाङ को हुन् ?

प्रचण्डको यो फोन संवादले झापाका नेकपा कार्यकर्ताहरूमा थप उत्साह भरेको छ भने विपक्षी दलहरूसँग मिल्न लागेको भन्ने चर्चालाई पूर्ण विराम लगाइदिएको छ । झापा–५ बाट चुनावी मैदानमा उत्रिएका रञ्जित तामाङ को हुन् भन्ने चासो पनि उत्तिकै छ । उनी पूर्व विद्यार्थी नेता मात्र नभई अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् । विद्यार्थी राजनीतिबाट स्थापित भएका तामाङ युवा पुस्ताका प्रखर र जुझारु नेता मानिन्छन् ।

उनी लामो समयदेखि झापाको स्थानीय राजनीति र सामाजिक मुद्दाहरूमा सक्रिय रहँदै आएका छन् । विशेष गरी युवा परिचालन र संगठन निर्माणमा अब्बल मानिने तामाङलाई प्रचण्डले नै अघि सारेका हुन् । यसपटकको निर्वाचनमा उनले ‘परिवर्तन र युवा नेतृत्व’ को एजेन्डा बोकेर झापा–५ मा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्, जसले गर्दा सो क्षेत्रको चुनावी भिडन्त थप कडा र रोचक बन्ने देखिएको छ ।


सम्बन्धित समाचार