प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बारा–२ निर्वाचन क्षेत्रमा राजनीतिक माहोल उच्चतम स्तरमा पुगेको छ। उम्मेदवारहरूले घर–घर पुगेर मतदाता भेटघाट, टोलभेला, स्थानीय अगुवासँगको छलफल र विकास योजना प्रस्तुत गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

भैयाराम यादव यस क्षेत्रका प्रत्येक गाउँ–टोलमा गएर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनले पचरौता नगरपालिकामा घरदैलो कार्यक्रम, टोलभेला र स्थानीय अगुवासँगको छलफलमार्फत आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यादवले भने, “हामी जनतासँग गरेको वाचा पूरा गर्छौं। मैले यस क्षेत्रका समस्या, दुःख र आवश्यकता नजिकबाट बुझेको छु। विश्वास गर्नुहोस्, सबै समस्याको समाधानका लागि इमानदार प्रयास गर्नेछु।”

उनले आफ्नो अभियानमा विशेष ध्यान पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित रहेको बताए। सडक स्तरोन्नति, सिंचाइ व्यवस्था विस्तार, कृषि आधुनिकीकरण र युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने योजना उनको मुख्य एजेन्डा बनेको छ। यादवले अन्य उम्मेदवार जस्ता झुटा आश्वासन दिनुको सट्टा काम गरेर देखाउनेमा जोड दिएका छन्।

मतदातासँगको प्रत्यक्ष संवादमा यादवले क्षेत्रका किसान, मजदुर, महिला र युवाहरूबाट सुझाव र गुनासा संकलन गरिरहेका छन्। स्थानीय बासिन्दाले आधारभूत सेवा–सुविधा विस्तार, बाढी नियन्त्रण, शिक्षा गुणस्तर सुधार, स्वास्थ्य चौकी सुदृढीकरण र ग्रामीण पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न जोड दिएका छन्।

विश्लेषकहरूले बारा–२ जस्तो संवेदनशील निर्वाचन क्षेत्रमा मतदाताको विश्वास जित्न उम्मेदवारको स्थायी सम्बन्ध, क्षेत्रीय समस्या बुझाइ र विकास योजनाको व्यावहारिकता निर्णायक हुने बताएका छन्। यादवको निरन्तर संवाद र स्थानीय समस्या बुझ्ने दृष्टिकोणले उनको प्रतिस्पर्धात्मक स्थिति मजबुत बनाएको देखिन्छ।


सम्बन्धित समाचार