प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएका कम्पनीहरूको सेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म निकै उत्साहजनक देखिएको छ ।

प्राप्त पछिल्लो तथ्याङ्कअनुसार यस अवधिमा २५ वटा विभिन्न कम्पनीहरूको कुल १ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ओटिसी बजारमा १ करोड २६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा विशेषगरी होटल, जलविद्युत्, उत्पादन र लगानी क्षेत्रका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

होटल क्षेत्रको दबदबा

यस अवधिको कारोबारमा होटल फरेस्ट इन लिमिटेड सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको १७ लाख ४० हजार कित्ता सेयर २१ करोड ६२ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ, जहाँ प्रतिकित्ता मूल्य करिब १२४ रुपैयाँ कायम भएको थियो । होटल क्षेत्रकै अर्को ठूलो कम्पनी बुढानीलकण्ठ हेरिटेज लिमिटेडको पनि करिब २३ लाख कित्ता सेयर १७ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । यी तथ्याङ्कले ओटिसी बजारमा पर्यटन र हस्पिटालिटी क्षेत्रका कम्पनीहरूमा लगानीकर्ताको उच्च मनोबल रहेको पुष्टि गर्दछ ।

इसेवाको मूल्य १७० रुपैयाँ

ऊर्जा क्षेत्रतर्फ इलेक्ट्रो पावर कम्पनी र सानिमा हाइड्रोपावरमा लगानीकर्ताको उल्लेख्य सक्रियता देखिएको छ । इलेक्ट्रो पावरको १४ करोड १४ लाख र सानिमा हाइड्रोको ९ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । औद्योगिक घरानाको सर्वोत्तम स्टिलको सेयर समेत १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैबीच, चर्चित डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको सेयर प्रतिकित्ता १७० रुपैयाँ १८ पैसाको दरले २ लाख ९२ हजार ६ सय कित्ता किनबेच हुनुलाई बजारले निकै चासोका साथ हेरेको छ ।

ब्रोकर र इन्भेस्टमेन्ट कम्पनीहरूको बढ्दो चहलपहल

ओटिसी बजारमा सेयर ब्रोकर र क्यापिटल कम्पनीहरूको स्वामित्व हस्तान्तरणमा पनि सक्रियता देखिएको छ। अनलाइन सेक्युरिटिज र प्रोपर्टी विजार्ड जस्ता कम्पनीहरूको करोडौँको सेयर ओटिसीमार्फत किनबेच भएको छ । मूल्य वृद्धिको हिसाबले आदर मल्टि इन्भेस्टमेन्टको प्रदर्शन रोचक देखिएको छ, जसको सेयर मूल्य दुई वर्षको अन्तरालमा ९१ रुपैयाँबाट बढेर १३२ रुपैयाँसम्म पुगेको छ ।

सूचीकृत नभएका तर बलियो व्यावसायिक आधार र भविष्य भएका कम्पनीहरूमा सर्वसाधारण र संस्थागत लगानीकर्ताको रुचि बढ्दै जाँदा ओटिसी बजार थप चलायमान बनेको छ।


सम्बन्धित समाचार