प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फागुन, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका रहबर अन्सारी यतिबेला आफ्नै धार्मिक समुदायको कडा निसानामा परेका छन्। जितका लागि धर्मको मर्यादा भुलेको र मुस्लिम संस्कृति विपरित गतिविधि गरेको आरोप लगाउँदै स्थानीय मुस्लिम समुदायले उनलाई निर्वाचनमा असहयोग गर्ने घोषणा गरेका हुन्।

आसन्न निर्वाचनको सरगर्मी बढिरहेका बेला बारा निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी मैदान निकै रोचक र विवादास्पद मोडमा पुगेको छ।

विदेशमा उच्च शिक्षा हासिल गरी आकर्षक एजेन्डासहित माओवादी केन्द्रबाट राजनीति सुरु गरेका अन्सारी अहिले जेनजी समर्थित रास्वपाबाट मैदानमा छन्। कहिले बोरा लगाएर विरोध गर्ने त कहिले संसदीय रोष्टममा आफैँलाई कालोमोसो दलेर चर्चामा आउने गरेका अन्सारीलाई अहिले उनकै समुदायले गद्दारको संज्ञा दिएको छ।

मतदाता रिझाउने बहानामा मन्दिर जाने, पूजापाठ गर्ने, अबिर–माला लगाउने र घण्टी बजाउने जस्ता कार्य गरेर अन्सारीले मुस्लिम धर्मको धज्जी उडाएको आरोप मुस्लिम इस्लाम संघले लगाएको छ। संघले अन्सारीले आफ्नो पहिचान र परम्परालाई सत्ता मोहका लागि तिलाञ्जली दिएको भन्दै उनलाई मत नदिन उर्दीनै जारी गरेको छ।

यसैबीच, सामाजिक सञ्जालमा भाइरल भएको एउटा फोन वार्ताले बारा ४ को राजनीतिमा नयाँ हलचल ल्याएको छ। पर्सा क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार जालिम मियाँ र मुस्लिम इस्लाम संघका प्रतिनिधि अख्तर सिद्दिकीबीचको कुराकानीमा रहबर अन्सारीलाई हराउने योजना प्रष्ट सुनिएको छ।

उक्त अडियोमा सिद्दिकीले जालिम मियाँलाई बारा ४ मा रहबरको विकल्पमा मुस्लिम आयोगका पूर्व अध्यक्ष समिम मियाँलाई सघाउन आग्रह गरेका छन्। यसले पर्सा र बाराका मुस्लिम नेताहरूबीच अन्सारीलाई रोक्न भित्री तालमेल भइरहेको सतहमा ल्याइदिएको छ।

बारा–४ मा करिब २३ हजार मुस्लिम मतदाता रहेकाले यो समुदायको मत जित–हारका लागि निर्णायक मानिन्छ। रहबर अन्सारीमाथि लागेको धार्मिक आरोपले गर्दा मुस्लिम मत विभाजित हुने निश्चित देखिएको छ। मुस्लिम मत बाँडिँदा त्यसको प्रत्यक्ष फाइदा नेकपा एमालेका कृष्णकुमार ९किसान० श्रेष्ठ, नेपाली कांग्रेसका उमेदवार श्यामबाबु गुप्ता अन्य प्रतिस्पर्धीलाई पुग्न सक्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।

चुनावी परिणाममा सिधा असर पर्ने गरी धार्मिक मुद्दा हावी भएपछि केही नागरिक समाजका प्रतिनिधिहरूले भने चिन्ता व्यक्त गरेका छन्। विकास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मूल एजेन्डाहरूलाई ओझेलमा पारेर धार्मिक ध्रुवीकरण गर्नु लोकतन्त्रका लागि घातक हुने उनीहरूको तर्क छ। तर, आरोप–प्रत्यारोपले तातिएको बारा–४ को चुनावी मैदानमा अहिले सिद्धान्तभन्दा पनि धार्मिक आस्था र पहचानको लडाइँ प्रधान बनेको छ।

यसैबीच, केही नागरिक समाजका प्रतिनिधिहरूले धार्मिक विषयलाई चुनावी हतियार नबनाउन आग्रह गरेका छन् । उनीहरूको भनाइ छ– विकास, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता मूल मुद्दा ओझेलमा पारेर धार्मिक ध्रुवीकरण गर्नु लोकतान्त्रिक अभ्यासका लागि घातक हुन सक्छ ।


सम्बन्धित समाचार