१४ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा संयन्त्रलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ ।
निर्वाचन सुरक्षालाई थप सुदृढ र कसिलो बनाउन प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा नेपाल प्रहरीका उच्च अधिकारीहरू अर्थात् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई कमाण्डरको रूपमा कार्यक्षेत्रमा खटाएको छ । विभिन्न विभागमा कार्यरत यी सात एआईजीहरूले निर्वाचन अवधिभर तोकिएका प्रदेशमा रहेर मातहतका जिल्लाहरूको सुरक्षा रणनीतिको प्रत्यक्ष निगरानी र निर्देशन गर्ने जिम्मेवारी पाएका छन् ।
प्रदेश कमाण्ड र संवेनदनशील जिल्लामा विशेष अधिकारीहरू
प्रहरीले प्रदेश कमाण्डर तोक्दा कोशीमा एआईजी राजन अधिकारी, मधेशमा डम्बर विक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा डा.मनोज केसी, लुम्बिनीमा उमा प्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर र सुदूरपश्चिममा हिमालय कुमार श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ ।
काठमाडौं उपत्यकाको सुरक्षा कमाण्ड भने एआईजी ईश्वर कार्कीले सम्हाल्नेछन् । सुरक्षा चुनौतीको विश्लेषण गर्दै प्रहरीले डीएसपीले नेतृत्व गरिरहेका पहाडी जिल्लाहरूमा एसपी र एसपीले नेतृत्व गरिरहेका संवेदनशील जिल्लाहरूमा एसएसपीहरूलाई थप कमाण्डरका रूपमा खटाएको छ । विशेषगरी हरेक पटकको चुनावमा झडप र विवादका कारण चर्चामा रहने दोलखा र सिन्धुपाल्चोक जस्ता जिल्लाहरूमा विशेष सुरक्षा टोली र नेतृत्व पठाइएको छ ।
प्राविधिक निगरानी र साइबर सुरक्षामा जोड
निर्वाचन सुरक्षाका लागि उपत्यकाबाट मात्रै १२ हजार ७०० भन्दा बढी थप सुरक्षाकर्मी जिल्लाहरूमा पुगिसकेका छन् । प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार यस पटक सुरक्षालाई अभेद्य बनाउन शंकास्पद स्थानहरूमा तालिमप्राप्त कुकुरहरूको गस्ती (डग स्निफिङ) गराइनेछ भने पछिल्लो समय बढ्दो साइबर चुनौतीलाई चिर्न प्रधान कार्यालय र निर्वाचन आयोगमा छुट्टाछुट्टै साइबर मनिटरिङ डेस्क स्थापना गरिएको छ ।
निर्वाचनको समयमा सीमा नाकाबाट हुने घुसपैठ रोक्न छिमेकी मुलुकका सुरक्षा अधिकारीहरूसँगको समन्वयमा नाकाहरू बन्द गर्ने र निगरानी बढाउने तयारी समेत पुरा भएको छ । दैनिक रूपमा जिल्ला र केन्द्रीय सुरक्षा समितिको बैठक बसी सुरक्षा विश्लेषण गर्ने र सोही अनुसार थप रणनीतिक परिचालन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

















