प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फागुन, काठमाडौँ । निर्वाचन आयोगले ‘जेनजी’ आन्दोलनका विषयमा बीबीसीले सार्वजनिक गरेको वृत्तचित्र (डकुमेन्ट्री) भिडियो हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयोगले उक्त डकुमेन्ट्रीमा समावेश सामग्रीहरूले निर्वाचनको वातावरण वा अन्य पक्षमा प्रभाव पार्न सक्ने भन्दै हटाउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विहीबार काउन्सिललाई औपचारिक पत्र पठाइएको पुष्टि गरेका छन् ।

बीबीसीले नेपाली र अङ्ग्रेजी दुवै भाषामा विहीबार सार्वजनिक गरेको भिडियो रिपोर्टमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका दृश्यहरू समावेश गरिएको छ । उक्त रिपोर्टमा सो आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दाबी गरिएको छ ।

आयोगले उक्त डकुमेन्ट्रीमा समेटिएका दाबी र दृश्यहरूका सम्बन्धमा प्रश्न उठाउँदै प्रेस काउन्सिललाई पत्र लेखेको हो ।

निर्वाचनको मुखमा सञ्चारमाध्यमबाट सार्वजनिक हुने सामग्रीहरूले सुरक्षा निकाय र निर्वाचनको निष्पक्षतामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै आयोगले यस्तो कदम चालेको बुझिएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार, सञ्चार माध्यमको आचारसंहिता र सामग्रीको गम्भीरतालाई हेरेर काउन्सिलमार्फत हटाउन आग्रह गरिएको हो ।

बीबीसीको उक्त रिपोर्ट सार्वजनिक भएसँगै सुरक्षा निकाय र राजनीतिक वृत्तमा समेत यसबारे बहस सुरु भएको छ । प्रेस काउन्सिलले आयोगको पत्र प्राप्त भएपछि यसबारे के कस्तो कदम चाल्नेछ भन्ने विषयमा भने आधिकारिक जानकारी आउन बाँकी छ ।


सम्बन्धित समाचार