१५ फागुन, काठमाडौँ । अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा बढ्दो तनावबीच पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलसहित विभिन्न शहरमा हवाई आक्रमण गरेको जनाएको छ। पाकिस्तानी सुरक्षा स्रोतहरूका अनुसार अफगान फौजले सीमावर्ती क्षेत्रमा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गरेपछि त्यसको जवाफस्वरूप पाकिस्तानले निर्णायक सैन्य कारबाही गरेको हो।
सुरक्षा स्रोतहरूले पाकिस्तानी सेनाले पाक-अफगान सीमाक्षेत्रमा प्रभावकारी कारबाही गर्दै अफगान तालिबानका धेरै चौकीहरू कब्जा गरेको दाबी गरेका छन्। पाकिस्तानी सुरक्षा बलले गुरसल सेक्टरमा रहेका अफगान तालिबानका चेकपोस्टहरू ध्वस्त पारेको बताइएको छ।
त्यसैगरी पाकिस्तानी वायुसेनाले ‘अपरेशन गजब लिल हक’ अन्तर्गत अफगानिस्तानभित्र हवाई आक्रमण सञ्चालन गरेको छ। उक्त कारबाहीका क्रममा नान्गारहारमा रहेको ठूलो गोलाबारुद डिपो ध्वस्त पारिएको दाबी गरिएको छ।
पाकिस्तानी सुरक्षा बलले पाक-अफगान सीमामा पर्ने खारलाची टर्मिनल क्षेत्रमा रहेका अफगान तालिबानका धेरै चौकीहरू पनि ध्वस्त पारेको जनाएको छ। साथै, पाकिस्तानी सेनाको हवाई आक्रमणबाट काबुल, कान्दाहार र पक्तिया क्षेत्रमा रहेका अफगान तालिबान शासनका प्रमुख सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको बताइएको छ।
पाकिस्तानी सेनालाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यम रेडियो पाकिस्तानले काबुलस्थित दुई ब्रिगेड मुख्यालय ध्वस्त भएको उल्लेख गरेको छ। यस्तै पाकिस्तान वायुसेना (पीएएफ) को हवाई आक्रमणबाट कान्दाहारमा रहेको अर्को गोलाबारुद डिपो पनि नष्ट भएको दाबी गरिएको छ।
सीमा क्षेत्रमा पछिल्लो समय बढ्दो तनावका कारण दुवै देशबीचको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। घटनाबारे अफगान तालिबान प्रशासनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

















