प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले उम्मेदवार र उनीहरूका एकाघर परिवारका सदस्यहरूको बैंक खातामा कडा निगरानी सुरु गरेको छ ।

निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानुनी व्यवस्था र पटक–पटकको निर्देशनलाई राजनीतिक दल तथा उम्मेदवारहरूले बेवास्ता गरेपछि आयोगले यो कठोर कदम चालेको हो । अधिकांश उम्मेदवारले बैंकिङ च्यानलभन्दा बाहिरबाट अपारदर्शी ढंगले खर्च गरिरहेको सूचना प्राप्त भएपछि आयोगले परिवारका सदस्यहरूको वित्तीय कारोबारलाई समेत सूक्ष्म ढंगले हेर्न थालेको छ ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन खर्चलाई पारदर्शी बनाउन आचारसंहितामा गरिएको व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि यस्तो कडाइ गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार आयोगले नेपाल राष्ट्र बैंकलाई समेत पत्राचार गरी उम्मेदवार र उनीहरूका परिवारको खातामा भइरहेको अस्वाभाविक कारोबारको विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ । चुनावी प्रचारप्रसारको समयमा हुने वित्तीय अपचलन रोक्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय र सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत सक्रिय बनाइएको छ ।

आयुक्त जबराले आयोगको निर्देशनविपरीत छुट्टै निर्वाचन खाता नखोल्ने वा पुराना खातामार्फत अपारदर्शी कारोबार गर्ने उम्मेदवारहरूलाई निर्वाचन कसुर ऐनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । आचारसंहिता उल्लंघन गर्नेहरूलाई भविष्यमा निर्वाचनका लागि ब्ल्याकलिस्ट वा अयोग्य ठहर गर्न सक्ने अधिकार आयोगसँग सुरक्षित रहेको उल्लेख गर्दै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै सरोकारवालाहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । अनुगमनका क्रममा वित्तीय अनुशासन उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार तत्कालै कारबाहीको प्रक्रिया अघि बढाइने आयोगको तयारी रहेको छ ।


सम्बन्धित समाचार