१५ फागुन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित श्री ने.रा.मा. विद्यालय महुवनमा कक्षा १२ का विद्यार्थीहरूले तोडफोड तथा आगजनी गरेका छन्। शैक्षिक भ्रमणको विषयलाई लिएर लामो समयदेखि देखिएको विवाद उत्कर्षमा पुगेपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन्।
विद्यालय स्रोतका अनुसार विगत ८–९ महिनादेखि कक्षा १२ का विद्यार्थीहरूले शैक्षिक भ्रमणको पहल गरिदिन विद्यालय प्रशासनसँग आग्रह गर्दै आएका थिए। तर मागको सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका थिए। विद्यालयका छात्र नितेस पटेल र कुन्दन यादवका अनुसार प्रधानाध्यापक श्रीराम साह रौनियारसमक्ष पटक–पटक आग्रह गर्दा पनि कुनै ठोस निर्णय नआएपछि विद्यार्थी आन्दोलित बनेका हुन्।
आक्रोशित विद्यार्थीहरूले विद्यालय परिसरमा रहेका टेबल, कुर्सी तथा पानी राख्ने ट्यांकीमा तोडफोड गर्नुका साथै केही सामग्रीमा आगजनीसमेत गरेका छन्। घटनाका कारण विद्यालयको भौतिक संरचनामा आंशिक क्षति पुगेको जनाइएको छ।
स्थिति उग्र बनेपछि इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी महुवन, निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी र स्थानीय बासिन्दाको पहलमा अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकबीच वार्ता तथा छलफल भइरहेको छ। संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको छात्र यादवले जानकारी दिएका छन्।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ। विद्यालय प्रशासनले पनि क्षतिको विवरण संकलन गर्दै आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

















