प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । रुकुमपश्चिमको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ, जहाँ उज्यालो नेपाल पार्टी (उनेपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार दुवै दलका उम्मेदवारहरूले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी जिल्लाको समग्र विकास र राजनीतिक स्थिरताका लागि यो सहकार्य गरिएको जानकारी दिएका हुन् । यसअघि नै नेकपा एमालेको समर्थन प्राप्त गरिसकेका शर्मालाई उनेपाको यो साथले थप बलियो बनाएको छ । पत्रकार सम्मेलनमा केसीले रुकुमको समृद्धिका लागि आफ्नो उम्मेदवारी त्यागेर शर्मालाई सघाउनु समयको माग भएको स्पष्ट पार्नुभयो ।

यो समर्थनसँगै रुकुमपश्चिमको चुनावी मैदानमा अब प्रलोपाका जनार्दन शर्मा, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेपाली कांग्रेसका राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिँदै गर्दा साना दलहरूले प्रभावशाली उम्मेदवारलाई समर्थन गर्ने क्रम बढेपछि जिल्लाको चुनावी गणित रोचक बन्दै गएको छ । उनेपाका उम्मेदवारले आफ्नो चुनावी अभियानलाई रोकेर अब शर्माको पक्षमा जनमत सिर्जना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

समर्थन प्राप्त गरेपछि प्रलोपा नेता शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमुना बनाउने आफ्नो संकल्प दोहोर्‍याउनुभएको छ । उहाँले आफ्नो मुख्य लडाइँ गरिबी र बेरोजगारी विरुद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय सुनिश्चित गर्न र जिल्लाको भविष्य उज्ज्वल बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताउनुभयो । रुकुमलाई देशकै ‘मोडल जिल्ला’ का रूपमा स्थापित गर्ने योजनासहित चुनावी मैदानमा होमिएका शर्माले यो सहकार्यले रुकुमेली जनताको भावनाको कदर गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार