१५ फाल्गुण, काठमाडौं । निर्वाचनका समयमा सधैँ अशान्त बन्ने र बुथ कब्जाका कारण चर्चामा रहने दोलखाको वैतेश्वर गाउँपालिकामा यसपटक राज्यले आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरेको छ ।
विगतका चुनावहरूमा मतदाताको अधिकार खोसिएका र झडपका कारण पुनः मतदान गर्नुपरेका गैरीमुदी, मिर्गे र नाम्दु जस्ता ‘अति संवेदनशील’ क्षेत्रलाई यसपटक गृह प्रशासनले विशेष निगरानीमा राखेको हो । यही संवेदनशीलतालाई बुझेर गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र तीनवटै सुरक्षा निकायका प्रमुखहरू शुक्रबार हेलिकोप्टरमार्फत सिधै वैतेश्वरको ‘ग्राउन्ड जिरो’ मा ओर्लिएका छन् । विगतमा गैरीमुदीमा हुने गरेका धाँधलीका श्रृंखलालाई पूर्णविराम लगाउन सरकारले यसपटक मतदानस्थलबाटै सुरक्षा रणनीति तय गरेको छ ।
‘दबाबमा परे कारबाही, धाँधली भए माफी छैन’
निरीक्षणका क्रममा वैतेश्वरको पुतलीकाठ र माझ गाउँस्थित सैन्य क्याम्प पुगेका गृहमन्त्री अर्यालले जिल्लाका सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिँदै कुनै पनि राजनीतिक दबाब वा प्रभावमा नपर्न सचेत गराउनुभएको छ । २०७९ को निर्वाचनमा बुथ कब्जा भएर लोकतन्त्रकै उपहास भएको स्मरण गर्दै उहाँले यसपटक मतदान केन्द्रमा कुनै पनि अवरोध गर्ने तत्वलाई तत्काल नियन्त्रणमा लिन ‘फिल्ड कमाण्डर’ हरूलाई आदेश दिनुभयो । ‘मतदाताले निर्धक्क भएर भोट हाल्न पाउनुपर्छ, विगतको जस्तो बुथ कब्जाको उजुरी आएमा सम्बन्धित सुरक्षा अधिकारी नै जवाफदेही हुनुपर्नेछ,’ गृहमन्त्रीले सुरक्षा संयन्त्रलाई स्पष्ट चेतावनी दिनुभएको छ । ८ मतदान स्थल र २१ केन्द्र रहेको वैतेश्वरमा यसपटक नाका–नाकामा कडाइ गरी अपरिचित र शंकास्पद व्यक्तिको प्रवेशमा समेत रोक लगाइएको छ ।
सुरक्षा प्रमुखहरूको शक्ति प्रदर्शनले मतदातामा उत्साह
टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी र प्रहरीका उच्च अधिकारीहरूको सामूहिक उपस्थितिले दोलखामा राज्यको उपस्थिति कति बलियो छ भन्ने सन्देश दिएको छ । ९० देखि ९५ प्रतिशत मत खस्ने तर वास्तविक मतदाता नहुने गरेको आरोप खेप्दै आएको वैतेश्वरमा यसपटक ‘फेक भोटिङ’ रोक्न विशेष प्रविधिको समेत प्रयोग गरिने भएको छ ।
प्रमुख निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले विगतमा मतदान अवरोध गर्नेहरूको सूची नै बनाएर निगरानी बढाएको ब्रिफिङ गरेपछि गृह टोली थप आश्वस्त बनेको छ । वैतेश्वरको अनुगमनपछि टोली ओखलढुङ्गा प्रस्थान गरे पनि दोलखाको ‘रेड जोन’ मा भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति र सुक्ष्म निगरानी कायमै राखिएको छ ।

















