१५ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारमा भएको आगजनी र बालबालिकामाथि प्रहार गरिएको गोलीको घटनालाई एउटै कडीका रूपमा व्याख्या गर्नुभएको छ ।
चितवनमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सिंहदरबार जलाउने र निर्दोष बालबालिकामाथि गोली चलाउनेहरू एउटै समूह र एउटै प्रवृत्तिका मानिसहरू भएको गम्भीर आरोप लगाउनुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसात्मक घटनातर्फ संकेत गर्दै उहाँले पहिले राज्यले बालबालिकामाथि गोली चलाएको र त्यसकै आक्रोशमा भौतिक संरचनाहरू जलेको तर्क अघि सार्नुभयो ।
सभापति लामिछानेले सिंहदरबार जल्नुको मुख्य कारण त्यहाँभित्र मौलाएको भ्रष्टाचार र जनताप्रतिको गैरजिम्मेवारीपन रहेको दाबी गर्नुभयो। ‘आजसम्म पनि सिंहदरबार कसले जलायो भनेर प्रश्न गरिन्छ, तर सत्य यो हो कि सिंहदरबार त्यसैले जलायो, जसले यसलाई भ्रष्टाचारको अखडा बनायो,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार सत्तामा बसेर बालबालिकाको ज्यान लिने र मुलुकको ढुकुटी लुट्नेहरू नै अन्ततः यस्ता विध्वंसकारी परिस्थितिका लागि जिम्मेवार छन् । उहाँले सिंहदरबार जलाउने र गोली ठोक्नेहरूको ‘जात र समूह’ एउटै भएको टिप्पणी गर्दै ती शक्तिहरूले नै मुलुकलाई अस्थिरता तर्फ धकेलेको जिकिर गर्नुभयो ।
विगतमा भएका घटनाहरूको समीक्षा गर्दै लामिछानेले अबको समय भत्काउने नभई बनाउने र बदल्ने भएको बताउनुभयो। उहाँले आफ्नो पार्टीले अबको नेतृत्व लिएर सिंहदरबारको स्वरूप र कार्यशैली दुवै परिवर्तन गर्ने संकल्प सुनाउनुभयो ।

















