१५ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्षेत्र न. १ अन्तर्गत बिरगंज–२३ परसौनि बिर्तामा बिहीवार साँझ कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। परसौनि बिर्ता चोकमा स्थानिय नागरिकको ठूलो उपस्थितिमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूले आफ्नो चुनावी एजेन्डा र संगठन विस्तारका योजना प्रस्तुत गरे।
कोणसभा सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा क्षेत्र न. १ का उम्मेदवार हरि पन्तले मतदातामा दृढ विश्वास व्यक्त गर्दै भने, “अब नेपाली जनता सचेत भइसकेका छन्, यसपटक सही उम्मेदवारलाई मात्र मतदान गर्नेछन्। जनताको समर्थन पाएको खण्डमा म निश्चित रूपमा निर्वाचनमा विजयी हुनेछु।” उनले पार्टी प्रवेश कार्यक्रम र प्रत्येक दिन हुने अभियानले आफ्ना जीत सुनिश्चित गरेको बताए।
कार्यक्रममा सगिर आलम, महुमुद्दिन अन्सारी, चन्दन यादब लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। कृष्ण पासवानले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य कृष्ण दासले राखेका थिए। जितेन्द्र महतोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा परसौनि बिर्ताका सयौं स्थानियहरू उपस्थित थिए र नयाँ सदस्यहरूले पार्टी प्रवेश गरेका थिए।
कार्यक्रममार्फत रास्वपाले आफ्नो संगठन विस्तार र जनसमर्थन जुटाउने अभियानमा थप गति लिएको छ। पार्टीका नेताहरूले आगामी निर्वाचनमा क्षेत्रीय विकास, महिला सशक्तीकरण र युवालाई अवसर सिर्जना गर्ने एजेन्डालाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएका छन्।

















