१५ फागुन,वीरगञ्ज । । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्जमा शक्ति प्रदर्शन गरेको छ। निर्वाचन प्रचारप्रसार अभियानअन्तर्गत पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी को समर्थनमा पार्टीले भव्य र्याली निकालेको हो।
हजारौं नेताकार्यकर्ता तथा समर्थकहरूको सहभागितामा वीरगञ्ज को घण्टाघरबाट सुरु भएको र्याली नगरका विभिन्न मुख्य क्षेत्र परिक्रमा गर्दै अघि बढेको थियो। र्याली माइस्थान, आदर्शनगर र कैलाश चोक हुँदै माइस्थानस्थित गहमाई मन्दिर प्राङ्गणमा पुगेर समापन सभामा परिणत भएको थियो। सहभागीहरूले पार्टीका झण्डा र नारासहित उत्साहपूर्ण उपस्थिती जनाएका थिए, जसले चुनावी माहोल थप तातेको देखिएको थियो।
समापन सभालाई सम्बोधन गर्दै वक्ताहरूले मधेशसहित पर्सा जिल्लाको समग्र विकासका लागि जसपानै उपयुक्त विकल्प भएको दाबी गरे। उनीहरूले विगतका वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता, विकासमा आएको सुस्तता तथा जनअपेक्षा पूरा हुन नसकेको अवस्थालाई अन्त्य गर्न सशक्त नेतृत्व आवश्यक रहेको धारणा राखे। आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरिएको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार टेमानीले फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक पर्वका रूपमा उत्साहपूर्वक सम्पन्न गर्न सबैसँग आग्रह गरे। मतदातालाई उम्मेदवारको पृष्ठभूमि, क्षमता र दृष्टिकोण बुझेर मात्र मतदान गर्न सुझाव दिँदै उनले निर्वाचन केवल प्रतिनिधि छनोटको प्रक्रिया मात्र नभई देशको भविष्य निर्धारण गर्ने अवसर भएको उल्लेख गरे।
उनले मतदातालाई कुनै दबाब, प्रभाव वा लोभलालचमा नपरी स्वतन्त्र रूपमा आफ्नो अमूल्य मत प्रयोग गर्न आह्वान गरे। सक्षम, इमानदार र परिणाममुखी नेतृत्व चयन भए मात्र सुशासन र समृद्धि सम्भव हुने उनको भनाइ थियो।
टेमानीले पाँच वर्षमा हुनुपर्ने निर्वाचन तीन वर्षमै हुन लागेको प्रसङ्ग उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले सत्ता समीकरण परिवर्तन गरेको बताए। देशमा मौलाएको बेथिति र भ्रष्टाचारका कारण जनस्तरमा असन्तोष बढेको र परिवर्तनको माग तीव्र बनेको उनको भनाइ थियो। परिवर्तनको अवसरलाई सही दिशामा उपयोग गर्न समस्याको जरा पहिचान गरी समाधान गर्न सक्ने नेतृत्व रोज्न उनले मतदातालाई आग्रह गरे।
मधेशको अधिकार, समावेशी विकास, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै उनले पर्सा क्षेत्र नं. २ लाई विकासको नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। वीरगञ्जमा भएको यो शक्ति प्रदर्शनले पर्सा क्षेत्र नं. २ मा जसपाको चुनावी सक्रियता र जनसमर्थनलाई बलियो सन्देश दिएको विश्लेषण गरिएको छ।
पार्टीले आगामी दिनहरूमा पनि घरदैलो, कोर्नर सभा तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
















