१५ फागुन,वीरगञ्ज । । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नं. २५ अन्तर्गत श्रीसिया टोलका मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। उनले घरघर पुगेर स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिँदै समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
घरदैलोका क्रममा टेमानीले औद्योगिक क्षेत्र नजिक रहेको श्रीसिया टोलमा भोगिएका वातावरणीय प्रदूषण, ढल तथा नाला व्यवस्थापनको अभाव, खानेपानीको समस्या, सडकको कमजोर अवस्था, सरसफाइ चुनौती र वर्षायाममा हुने डुबानजस्ता समस्याबारे स्थानीयसँग विस्तृत छलफल गरेका थिए। स्थानीय बासिन्दाले उद्योगबाट निस्किने धुवाँ, धुलो र फोहोर पानीले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको गुनासो गरेका थिए।
ढल निकासको उचित व्यवस्था नहुँदा वर्षातमा सडक र बस्तीमा पानी जम्ने, दुर्गन्ध फैलिने र संक्रमणको जोखिम बढ्ने, साथै दैनिक जीवन प्रभावित हुने समस्या पनि उठाइएको थियो। कतिपय स्थानमा सुरक्षित खानेपानीको अभाव अझै कायम रहेको र उपलब्ध पानीको गुणस्तरप्रति समेत चिन्ता व्यक्त गरिएको छ।
भित्री सडकहरू जीर्ण अवस्थामा रहेका, सडक बत्ती र अन्य आधारभूत पूर्वाधार पर्याप्त नभएको तथा फोहोर व्यवस्थापन कमजोर भएका कारण कतिपय स्थानमा फोहोर थुप्रिने र वातावरण अस्वस्थ हुने अवस्था रहेको स्थानीयले बताएका छन्।
स्थानीयका समस्या सुनेपछि टेमानीले श्रीसिया टोलको समग्र विकासलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले औद्योगिक क्षेत्र नजिकका बस्तीहरूमा वातावरणीय सन्तुलन कायम गर्न नीतिगत पहल गर्ने, प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र स्थानीयको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने बताए।
टेमानीले खानेपानी, ढल–नाला व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापन जस्ता आधारभूत पूर्वाधार विकास योजनाबद्ध रूपमा अगाडि बढाउने स्पष्ट पारे। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत दीर्घकालीन समाधान सुनिश्चित गर्ने आफ्नो योजना रहेको उल्लेख गरे।
“जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै विकासको पहिलो चरण हो। श्रीसिया टोलका बासिन्दाले भोगिरहेका समस्या समाधानका लागि म प्रतिबद्ध छु,” उनले भने। उनले विकासका योजनाहरू कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने र जनताको विश्वास जितेर परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
वीरगञ्जलाई व्यवस्थित, स्वच्छ र सुरक्षित सहर बनाउने दीर्घकालीन सोच भएको टेमानीले औद्योगिक विकाससँगै स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणीय सुरक्षालाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। जनता समाजवादी पार्टीले पर्सा क्षेत्र नं. २ मा विकास, पूर्वाधार विस्तार, वातावरण संरक्षण, रोजगारी सिर्जना र नागरिक जीवनस्तर सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको जनाएको छ।

















