१६ फागुन,काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
कम्पनीद्वारा जारी सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर रेलमार्ग खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णरूपमा बन्द रहनेछ।
निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको कम्पनीले जनाएको छ। सोही अवधिमा सीमा नाकासमेत बन्द गरिने उल्लेख गरिएको छ।
रेल सेवा भने फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै पुनः सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ। यात्रुहरूलाई यस अवधिमा वैकल्पिक यातायात व्यवस्था अपनाउन अनुरोध गरिएको छ।