१६ फागुन,वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शनिबार पर्सासहित मधेस प्रदेशका चार जिल्ला — पर्सा, बारा, सर्लाही र रौतहट — मा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
पर्साको वीरगञ्जमा दिउँसो २ बजेदेखि कांग्रेसको आमसभा बीपी उद्यान परिसर, घण्टाघर छेउमा हुने छ। सभापति थापा सडक मार्गमा रोड शो गर्दै सभास्थलमा पुग्नेछन्। उनी पोखरियामा हुने अर्को कांग्रेस सभामा पनि हेलिकप्टरबाट सिधै सहभागी हुने कार्यक्रम छ।
कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीका अनुसार थापाले हेलिकप्टरबाट वीरगञ्जको गण्डकस्थित वीरगञ्ज हेल्थकेयर हस्पिटलको हेलिप्याडमा अवतरण गरी चारपाङ्ग्रे गाडीमार्फत रोड शो गर्दै बीपी उद्यानमा पुग्नेछन्।
सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा चुनावी सभामा सम्बोधन गरेका थिए भने बिहीबार सुर्खेत र बाँके पुगेका थिए। आगामी आइतबार उनी काठमाडौंमा हुने कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

















