१६ फागुन,काठमाडौं ।मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकार ले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय ले शनिबार एक एडभाइजरी जारी गर्दै तत्कालका लागि यी दुई देशतर्फ यात्रा नगर्नसमेत अनुरोध गरेको हो।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई सम्बन्धित देशका सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ। नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, अत्यन्त चनाखो रहन, आवश्यक सावधानी अपनाउन तथा आफू रहेको क्षेत्रका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाव दिइएको छ। साथै, स्थानीय अधिकारीको पूर्व स्वीकृति बिना कुनै पनि यात्रा नगर्न मन्त्रालयले सचेत गराएको छ।
रोजगारी वा अन्य प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकलाई अवस्था सामान्य नभएसम्म आफ्नो यात्रा योजना स्थगित गर्न कडा सुझाव दिइएको छ।
यसैगरी, मध्यपूर्वका अन्य देशहरूमा बसोबास गर्ने तथा कार्यरत नेपालीहरूलाई पनि विकसित घटनाक्रमको निरन्तर निगरानी गर्न र सम्बन्धित देशका अधिकारीहरूले सुझाएका पूर्वसावधानीका उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ।
कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा वा आवश्यक जानकारी तथा समन्वयका लागि नागरिकहरूलाई काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली राजदूतावास तथा कतारको दोहास्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ।

















