१६ फागुन, काठमाडौं । इरान को होर्मोजगान प्रान्तमा रहेको एक विद्यालयमाथि गरिएको इजरायल को आक्रमणमा परी मृत्यु हुने विद्यार्थीको संख्या २४ पुगेको छ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तअन्तर्गत मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको आक्रमणपछि मृतकको संख्या बढ्दै २४ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि Al Jazeera ले प्रारम्भिक विवरण उद्धृत गर्दै उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो। पछिल्लो विवरणअनुसार मृतकको संख्या उल्लेखनीय रूपमा बढेको हो।
यसैबीच, राजधानी तेहरान सहित देशका विभिन्न सहरहरूमा विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ। तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई को कार्यालय तथा राष्ट्रपतिको कार्यालयसमेत निशानामा परेको बताइएको छ।
क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा इरानका विभिन्न भागमा सुरक्षा अवस्था झनै जटिल बनेको अन्तर्राष्ट्रिय विश्लेषण छ।

















