प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बनेमा देशका उच्चपदस्थ नेताहरूको सम्पत्ति शुद्धीकरण गर्ने साहसिक घोषणा गर्नुभएको छ ।

मधेस प्रदेशको चुनावी कमान्ड सम्हाल्दै सर्लाही, बारा र पर्साका आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले भ्रष्टाचार अन्त्यका लागि आफू कठोर बन्ने बताउनुभएको हो।

शनिबार हेलिकप्टरमार्फत वीरगञ्ज आइपुग्नुभएका सभापति थापाको स्वागतमा कार्यकर्ताको निकै उत्साह देखिएको थियो। वीरगञ्जस्थित हेल्थ केयर अस्पतालको हेलिप्याडमा ओर्लिएलगत्तै उहाँ रोड शो गर्दै घण्टाघरस्थित बीपी उद्यान पुग्नुभएको थियो। वीरगञ्जको सडकमा उहाँलाई हेर्ने र स्वागत गर्ने शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

सर्लाहीको बयलबास र वीरगञ्जको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले भन्नुभयो, म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेन्डा भ्रष्टाचार अन्त्य गर्ने हुनेछ। यसको सुरुवात २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धीकरणबाट हुनेछ।

उहाँले यसका लागि एक शक्तिशाली र अधिकारसम्पन्न आयोग बनाउने बताउँदै सम्पत्ति छानबिनको रोलक्रममा आफू अग्रस्थानमा बस्न तयार रहेको चुनौती दिनुभयो। पार्टीका पूर्व सभापति, मन्त्री र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन गरिनेछ, भ्रष्टाचार निवारण गफले मात्र हुँदैन, उहाँले थप्नुभयो।

अपिल आफू प्रधानमन्त्री बन्नका लागि संसद्मा स्पष्ट बहुमत आवश्यक पर्ने उल्लेख गर्दै थापाले पर्साका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो। वीरगञ्जको सभामा पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटा, क्षेत्र नं. २ का अजय चौरसिया, क्षेत्र नं. ३ का सुरेन्द्र चौधरी र क्षेत्र नं. ४ का रमेश रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

मधेसको भ्रमणका क्रममा आफूले यहाँको वास्तविक समस्या देखेको बताउँदै थापाले सर्लाही र रौतहटको कमजोर शिक्षा र स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले किसानका लागि किसानकार्ड को व्यवस्था गर्ने र मधेसका दलित समुदायको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो। ूम प्रधानमन्त्री बनेपछि हरेक महिना नागरिकका नाममा सम्बोधन गर्दै कार्यसम्पादनको हिसाब दिनेछु, थापाले जिकिर गर्नुभयो।

निर्वाचनको समयमा विपक्षीहरूले विभिन्न भ्रामक सूचना र अफवाह फैलाएको भन्दै थापाले त्यसलाई चिर्न र घरदैलोमा पुगेर सत्यतथ्य बुझाउन पार्टीका नेता तथा शुभेच्छुकहरूलाई निर्देशन दिनुभयो। देशले नयाँ गति र सुशासन चाहेको भन्दै त्यसको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने उहाँको दाबी थियो।

 


सम्बन्धित समाचार