१७ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु भएको र यसले इरानी जनता तथा विश्वभरकै लागि ‘न्याय’ गरेको उल्लेख गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले खामेनीलाई ‘इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ को संज्ञा दिँदै उनको अन्त्यले खामेनीबाट पीडित भएका इरानी, अमेरिकी र विश्वभरका मानिसहरूले राहत पाएको बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिकी गुप्तचर निकाय र अत्याधुनिक ट्र्याकिङ प्रणालीले इजरायलसँगको निकट समन्वयमा खामेनीलाई लामो समयदेखि पछ्याइरहेको थियो । सोही ‘पिनपोइन्ट’ कारबाहीका क्रममा खामेनी र उनीसँगै रहेका अन्य नेताहरू मारिएको दाबी गरिएको छ ।
उनले भने, “इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने यो सबैभन्दा ठुलो अवसर हो । इरानको ठुलो हिस्सा एकै दिनमा ध्वस्त भएको छ र मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म हाम्रो सैन्य कारबाही रोकिने छैन।”
आफ्नो सन्देशमा ट्रम्पले इरानी सेनालाई समेत सिधै चेतावनी दिएका छन् । उनले , “अहिले आत्मसमर्पण गरे उनीहरूले उन्मुक्ति पाउन सक्छन्, तर ढिलो गरेमा मृत्यु मात्र हात लाग्नेछ।” ट्रम्पले इरानमा ‘पिनपोइन्ट’ बमबारी जारी रहने र यो अभियान विश्व शान्तिका लागि निर्णायक हुने दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरे पनि इरान सरकार वा त्यहाँका स्वतन्त्र सञ्चारमाध्यमहरूले सर्वोच्च नेता खामेनीको मृत्युबारे हालसम्म कुनै आधिकारिक पुष्टि गरेका छैनन् । ट्रम्पको यो घोषणाले विश्व राजनीति र तेल बजारमा ठुलो हलचल पैदा गरेको छ । मध्यपूर्वमा जारी तनावका बीच आएको यो खबरले युद्धको नयाँ रूप लिन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिरहेको छ ।

















