प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फागुन, काठमाडौँ । अमेरिका र इजरायलले शनिबार इरानका विभिन्न सहरहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेका छन् । यसक्रममा दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरको एक विद्यालयमा तीनवटा मिसाइल खस्दा कम्तीमा १०८ जनाको मृत्यु भएको छ।

स्थानीय सरकारी अधिकारीहरूका अनुसार इरानभर भएका शृंखलाबद्ध आक्रमणमा परी हालसम्म २०१ जनाको ज्यान गइसकेको छ भने ७४७ जना घाइते भएका छन्।

आक्रमणको निशानामा परेको विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटरको दूरीमा रहेको बताइएको छ। आईआरजीसी क्याम्पलाई लक्षित गरी प्रहार गरिएका मिसाइलहरू विद्यालयमा खसेको अनुमान गरिएको छ ।

इरानी राष्ट्रपति मोसुद पेजेस्कियानले यस घटनालाई ‘जंगली कार्य’ को संज्ञा दिँदै आक्रमणकारीहरूको अपराधको इतिहासमा यो अर्को ‘कालो पाना’ भएको टिप्पणी गरेका छन्। यद्यपि, अमेरिका र इजरायलले विद्यालयमा भएको आक्रमणबारे आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।

जेनेभास्थित रेडक्रस र रेड क्रिसेन्टले घटनास्थलमा उद्धार टोली परिचालन गरिएको जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा ध्वस्त भवनबाट धुवाँ निस्किएको र मानिसहरूको चित्कार सुनिएको देखिन्छ ।

घटनापछि इरानी नागरिकहरूमा तीव्र आक्रोश र विभाजन देखिएको छ। कतिपयले सैनिक हस्तक्षेपको विरोध गर्दै ‘यही हो त तपाईंहरूले चाहेको युद्ध?’ भन्दै प्रश्न गरेका छन् भने, कतिपयले जनतालाई पूर्वसूचना नदिएको र सुरक्षाको प्रत्याभूति नगराएको भन्दै इरानी शासनकै आलोचना गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनी र उनका कैयौँ वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन्। ट्रम्पको यो दाबीले क्षेत्रमा थप तनाव र अनिश्चितता पैदा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई इरान प्रवेशमा कडाइ गरिएका कारण हताहतीको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ । इरानका धेरै ठाउँमा इन्टरनेट र फोन सेवा अवरुद्ध पारिएको छ, जसले गर्दा सूचना संकलनमा कठिनाइ भइरहेको छ ।


सम्बन्धित समाचार