प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियानले प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बनाएको छ। वीरगञ्ज महानगरपालिका–११, श्रीपुरमा निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्त स्वयं सहभागी हुँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलो कार्यक्रमलाई स्थानीयबासीले उत्साहजनक रूपमा स्वागत गरेका थिए। उम्मेदवार पन्तले घर–घर पुगेर जनताका समस्या, अपेक्षा र सुझावहरू सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन” भन्ने धारणा राखे। पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

यसैक्रममा वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवा, इनर्वा र फुलवारी टोलमा पनि व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। वार्ड नम्बर–१६ का बासी चन्दन पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको थियो। स्थानीयवासीले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना तथा सुशासनका विषयमा चासो व्यक्त गरेका थिए।

उम्मेदवार पन्तले ती विषयहरूलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै विगतका प्रतिनिधिहरूले पूरा गर्न नसकेका कामहरू परिणामसहित सम्पन्न गर्ने दाबी गरे। साथै महिलाको सशक्तीकरण, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

रास्वपाको अभियानमा देखिएको जनसमर्थनले क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा रोचक बन्दै गएको संकेत गरेको छ। अभियानमा सहभागी कार्यकर्ताहरूका अनुसार विभिन्न टोलहरूमा पुग्दा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ र विशेषगरी युवा पुस्ता परिवर्तनको पक्षमा उभिएको दाबी गरिएको छ।

घरदैलो अभियानलाई निरन्तरता दिने तयारीमा रहेको रास्वपाले आगामी दिनमा थप सघन कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। उम्मेदवार पन्तले मतदातालाई सचेत निर्णय लिन आग्रह गर्दै व्यवस्था सुधारका लागि परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन्।


सम्बन्धित समाचार