प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदान प्रक्रियालाई सहज बनाउन र अत्यावश्यक सेवालाई निरन्तरता दिन सवारी आवागमनमा विशेष सहुलियतको व्यवस्था गरेको छ ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सञ्चालन हुने विभिन्न अत्यावश्यक सेवाका सवारी साधनहरूलाई कुनै पनि प्रकारको सवारी अनुमति पत्र (पास) नचाहिने स्पष्ट पारेको हो । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, मतदानका दिन दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर जस्ता आपत्कालीन सेवाका गाडीहरू बिना रोकतोक सञ्चालन हुन पाउनेछन् ।

सर्वसाधारणको दैनिक जीवनमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न आयोगले दैनिक उपभोग्य वस्तुहरू जस्तै दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनलाई पनि पासको झन्झटबाट मुक्त राखेको छ । त्यसैगरी, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूले आफ्नो घरदेखि कार्यस्थलसम्म आवतजावत गर्न प्रयोग गर्ने निजी वा सरकारी गाडीलाई पनि पास आवश्यक पर्ने छैन । हवाई यात्रुहरूको सुविधाका लागि विमानस्थलसम्म जाने र घर वा होटलसम्म फर्कने गाडीहरूलाई समेत आयोगले सहज आवागमनको अनुमति दिएको छ ।

विशेषगरी शारीरिक रूपमा अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदाताहरूलाई मतदान केन्द्रसम्म पुर्‍याउन प्रयोग गरिने सवारी साधनमा पनि पासको अनिवार्यता हटाइएको छ । यस्ता मतदाताका साथमा रहने एक जना सहयोगी बोकेको गाडीले सहजै गुड्न पाउनेछन् । कूटनीतिक नियोगका ‘सिडी’ नम्बर प्लेट भएका गाडी, सञ्चारकर्मी र आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षकका सवारी साधनलाई पनि यो छुट दिइएको छ । अन्य प्रयोजनका लागि भने आयोगले काठमाडौँमा ुएकीकृत सवारीसाधन आवागमन डेस्कु स्थापना गरी पास वितरणलाई व्यवस्थित बनाएको छ ।


सम्बन्धित समाचार