१७ फाल्गुण, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भविष्य निर्धारणका लागि मतदाताहरूले अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको उद्घोष गर्नुभएको छ ।
प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा एक विशेष भिडिओ सन्देश जारी गर्दै उहाँले निर्माणको बाटो रोज्ने कि विध्वंसको भन्ने निर्णय लिने जिम्मा जनताको हातमा रहेको बताउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रको अस्तित्व र भविष्यको रक्षाका लागि अहिले नबोलेमा भविष्यमा आफैँले आफैँलाई माफ गर्न नसकिने भन्दै मतदाताहरूलाई गम्भीर हुन आग्रह गर्नुभएको छ ।
आफ्नो सन्देशमा ओलीले विगतमा निर्वाचित सरकारलाई अपदस्थ गर्न र प्रतिनिधि सभा विघटन गराउन अनेक प्रपञ्च रचिएको स्मरण गराउँदै अहिलेको मुख्य प्रश्न देश बचाउने कि नबचाउने भन्नेमा केन्द्रित रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफूप्रति जनताका केही गुनासो र कमजोरी हुनसक्ने स्वीकार गर्दै तर राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमानको सवालमा आफूले कहिल्यै कसैसँग सम्झौता नगरेको र नगर्ने दृढता व्यक्त गर्नुभएको छ । आफ्नो बाँकी जीवन देशकै लागि समर्पित रहेको भाव व्यक्त गर्दै उहाँले अब ुदेश पहिलेु भन्ने मन्त्रलाई आत्मसात् गर्न अपिल गर्नुभयो ।
अध्यक्ष ओलीले सार्वजनिक सम्पत्ति, अदालत, संसद र सुरक्षा निकाय जस्ता राज्यका आधारभूत संरचनाहरू जनताको कर र भरोसाले बनेको स्मरण गराउँदै तिनको सुरक्षाको ग्यारेन्टी खोज्न ‘देश पहिले’ भन्ने भावना आवश्यक रहेको बताउनुभयो । आफ्नो माटो, सीमा र पहिचानमा गर्व गर्ने शक्ति नै नेपालको वास्तविक आत्मबल भएको तर्क गर्दै उहाँले स्वाभिमान नझुक्ने सुनिश्चितताका लागि मतदाताहरूलाई राष्ट्रको पक्षमा उभिन आह्वान गर्नुभएको छ । निर्वाचनको यस घडीमा सही निर्णय लिएर भविष्यमा आत्मसन्तुष्टि प्राप्त गर्ने गरी मतदान गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

















