प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा चर्किएको सैन्य तनाव र हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने वैदेशिक उडानहरू ठप्प भएपछि सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

इरान र इजरायलबीचको द्वन्द्वले उग्र रूप लिएसँगै दोहा, दुबई, कुवेत, अबुधाबी र दमाम जस्ता प्रमुख गन्तव्यका उडानहरू रद्द गरिएपछि विशेष गरी वैदेशिक रोजगारीका लागि उड्न लागेका नेपाली श्रमिकहरू गम्भीर समस्यामा परेका हुन् । विमानस्थल पुगिसकेका यात्रुहरू एकाएक उडान रोकिएको खबरले अन्योलमा परेका छन् भने कतिपयको बिचल्ली भएको छ ।

विमानस्थलमा अलपत्र परेका यात्रुहरूले उडान कहिले खुल्ने भन्ने निश्चित नहुँदा काठमाडौँमा बस्न र खानका लागि आफूहरूसँग पर्याप्त खर्च नभएको भन्दै दुखेसो पोखेका छन् । गाउँघरबाट ऋणपान गरेर र जायजेथा बेचेर विदेश जान हिँडेका युवाहरूका लागि यो अनपेक्षित अवरोध ठूलो आर्थिक र मानसिक बोझ बनेको छ । ‘होटलमा बस्ने पैसा छैन, घर फर्कौँ भने टिकटको पैसा डुब्ने डर छ’ विमानस्थलमा भेटिएका एक यात्रुले आफ्नो पीडा सुनाउँदै भने। उडानहरू रद्द हुनाले ट्रान्जिटमा रहेका र नयाँ जान लागेका दुवैथरी यात्रुहरू मारमा परेका छन् ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने मध्यपूर्वको सुरक्षा अवस्थालाई ध्यानमा राखेर उडानहरू स्थगित गरिएको जनाएको छ । विमानस्थलले एक सूचना जारी गर्दै यात्रुहरूलाई विमानस्थल आउनुअघि अनिवार्य रूपमा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । परिस्थिति सामान्य नभएसम्म उडान तालिकामा परिवर्तन भइरहने सम्भावना रहेकाले अनावश्यक दुःख नपाउन यात्रुहरूलाई सतर्क गराइएको छ । हवाई मार्ग बन्द हुँदा वैदेशिक रोजगारीको पर्खाइमा रहेका हजारौँ नेपालीको सपना र जीविकोपार्जनमा तत्कालका लागि पूर्णविराम लागेको छ ।


सम्बन्धित समाचार
भर्खरै