प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिका बीच इरानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

इरानमा अमेरिकी र इजरायली आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थालाई लिएर सर्वत्र चासो बढिरहेका बेला मन्त्रालयले आइतबार यस्तो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार विभिन्न प्रयोजनका लागि इरान पुगेका कुल १२ जना नेपालीमध्ये अधिकांश सुरक्षित सम्पर्कमा रहेका छन् । तीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने अन्य दुई जना स्वदेश फर्कने प्रक्रियामा रहेका छन् ।

सम्पर्कमा आठ नेपाली र दूतावासको सक्रियता

मन्त्रालयका अनुसार अझै आठ जना नेपाली नागरिक इरानमै रहेका छन् । उनीहरू सबै सुरक्षित रहेको र तेहरान हेर्ने नेपाली दूतावास उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । युद्धको त्रासका बीच त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र आवश्यक समन्वय गर्न कूटनीतिक नियोगलाई उच्च सतर्कतामा राखिएको छ । मन्त्रालयले मध्यपूर्वको बदलिँदो सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको र आफ्ना नागरिकको रक्षाका लागि सम्भावित सबै उपायहरू अवलम्बन गरिरहेको जनाएको छ ।

उच्च सतर्कता अपनाउन र यात्रा नगर्न आग्रह

इरान र इजरायलबीचको बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले त्यहाँ बसोबास गरिरहेका नेपालीहरूलाई विशेष सचेतता अपनाउन अपिल गरेको छ । मन्त्रालयले नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै, स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन र सम्बन्धित निकायको पूर्व स्वीकृतिबिना कुनै पनि प्रकारको यात्रा नगर्न मन्त्रालयको निर्देशन छ । नेपालबाट इरान र इजरायलतर्फ जान लागेका सबैलाई तत्कालका लागि आफ्नो यात्रा रद्द गर्न समेत परराष्ट्रले विशेष आग्रह गरेको छ ।


सम्बन्धित समाचार