प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७, फल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा पूँजी बजारमा उत्साहजनक सुधार देखिएको छ ।

आगामी बिहीबार हुने मतदानका कारण यो साताको अन्तिम कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको हो । सोमबार होलीको सार्वजनिक बिदा र त्यसलगत्तै निर्वाचनका लागि सरकारले दिएको तीन दिने बिदाका कारण अब बजार चुनावपछि मात्र खुल्नेछ । साताको सुरुवातमा केही घटेको बजार मध्यसमयपछि सम्हालिँदै १९ दशमल २७ अङ्कको वृद्धिसहित २६७४ दशमलव २० विन्दुमा पुगेर रोकिएको छ।

लगानीकर्तामा बढ्यो उत्साहस् अधिकांश कम्पनीको मूल्यमा सुधार

आइतबारको कारोबारमा बजारका सबैजसो समूहगत परिसूचकहरू हरियाली देखिएका छन्। नेप्सेमा सूचीकृत ३४१ कम्पनीमध्ये १८७ वटाको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ। विशेष गरी सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा करिब १० प्रतिशतको बढोत्तरी देखिएको छ, जसले लगानीकर्तामा सकारात्मक ऊर्जा भरेको छ। जीवन बीमा, उत्पादनमूलक र वित्त समूहमा उल्लेख्य अङ्कको वृद्धि देखिएसँगै सेन्सेटिभ इन्डेक्स समेत ३.२२ अङ्कले उकालो लागेको छ।

चुनावपछिको बजारमा आशावादी लगानीकर्ता

निर्वाचनअघिको अन्तिम दिन भएकाले पनि आइतबार बजारमा सेयर खरिदबिक्रीमा तीव्रता देखिएको छ। यस दिन ५५ हजार २ सय ६ पटकको कारोबारबाट कुल ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ। यो कारोबार रकम गत साताको बिहीबारको तुलनामा उल्लेख्य बढी हो। निर्वाचनपछि बन्ने नयाँ सरकार र त्यसले लिने आर्थिक नीतिले बजारलाई थप उचाइमा लैजाने अपेक्षा गर्दै लगानीकर्ताहरूले अन्तिम दिन सेयर थप्न रुचाएको विश्लेषण गरिएको छ। अब लगानीकर्ताको ध्यान बिहीबारको निर्वाचन र त्यसपछि आउने नतिजातर्फ केन्द्रित भएको छ।


सम्बन्धित समाचार