१७ फागुन,वीरगञ्ज । निर्वाचन अवधिमा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्सा ले आइतबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले प्रेस पास भएका पत्रकारका सवारीसाधनका लागि छुट्टै सवारी पास आवश्यक नपर्ने जानकारी दिए।
उनका अनुसार प्रेस पास नभएका पत्रकारले भने आफ्नो सञ्चार संस्था, परिचयपत्र र सवारीसाधनको विवरणसहित नेपाल पत्रकार महासंघ पर्सा शाखा को सिफारिसमा सवारी पास लिनुपर्ने कार्यविधि रहेको छ।
प्रजिअ दाहालले प्रत्येक मतदान केन्द्रमा पत्रकारलाई आवश्यक तस्बिर लिन सक्ने वातावरण मिलाउन मतदान अधिकृत र सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए। मतदान प्रक्रियामा बाधा नपर्ने गरी पत्रकारले सहज रूपमा काम गर्न पाउने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट प्रेस पास उपलब्ध गराइने पनि उनले जानकारी दिए।
निर्वाचन आयोग ले सवारीसाधन सञ्चालन व्यवस्थापनलाई प्रभावकारी र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको जनाएको छ। सो कार्यविधिअनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै दूरसञ्चार, विद्युत्, ढल मर्मत, अस्पताल सेवा, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रु ओसारपसार गर्ने सवारीसाधन पनि पासविना सञ्चालन गर्न पाइनेछ। हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शारीरिक रूपमा अशक्त वा ज्येष्ठ नागरिक मतदाता र उनका एक सहयोगी बोकेका सवारीसाधनलाई पनि छुट दिइएको छ।
नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानवअधिकार आयोग का अनुगमन सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन निर्वाध सञ्चालन हुने जनाइएको छ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनीयार ले कार्यालयले हालसम्म सम्पन्न गरेका तयारीबारे जानकारी गराएकी थिइन्।

















