प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फाल्गुण, काठमाडौँ । इरान र इजरायल–अमेरिकाबीच चर्किएको सैन्य द्वन्द्वले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा युद्धको गम्भीर स्थिति सिर्जना गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने गरी तय गरिएको यस बैठकले विशेष गरी खाडी क्षेत्रमा रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षा र सम्भावित उद्धारका विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ । मध्यपूर्वको बदलिँदो सुरक्षा अवस्थाका कारण नेपालले तत्काल अपनाउनुपर्ने सावधानी र सुरक्षा तयारीका बारेमा छलफल गर्न यो बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीले बोलाएको यस आकस्मिक बैठकमा परराष्ट्र, श्रम र गृह मन्त्रालयका पछिल्ला प्रगति विवरणहरूमाथि समीक्षा हुनेछ । इरानमा अमेरिकी र इजरायली आक्रमणपछि सुरु भएको जवाफी हमलाको शृङ्खलाले नेपालीहरूको प्रमुख श्रम गन्तव्य मानिने यूएई, कतार र साउदी अरब जस्ता देशहरू समेत प्रभावित हुन थालेपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएको हो । बैठकले विशेष गरी युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन, सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक परेको खण्डमा हवाई उद्धारका लागि चाल्नुपर्ने कूटनीतिक तथा प्राविधिक कदमहरूका बारेमा ठोस मार्गचित्र तय गर्ने बुझिएको छ ।

यसैबीच, सरकारले यसअघि नै खाडी मुलुक जाने श्रमिकका लागि श्रम स्वीकृति र एनओसी दिने कार्य स्थगित गरिसकेको छ । मन्त्रिपरिषद्को यो बैठकले निर्वाचनको पूर्वसन्ध्यामा मुलुकभित्रको सुरक्षा अवस्था र वैदेशिक रोजगारीमा रहेका नागरिकहरूको रक्षाका लागि ‘मल्टी स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम’ लाई थप अधिकार दिने विषयमा पनि छलफल गर्नेछ ।

राजनीतिक दलहरू र मानव अधिकार आयोगले समेत नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई निरन्तर दबाब दिइरहेका बेला बालुवाटारमा बस्न लागेको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार