प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फागुन,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादव ले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर–३, छपकैयामा व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सम्पन्न गरेकी छन्।

कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै फागुन २१ गते हुने निर्वाचनमा सूर्यछापमा मतदान गरी विजयी गराउन आग्रह गरिन्। घरदैलो कार्यक्रमलाई जनतासँग नजिक हुने तथा स्थानीय समस्या, अपेक्षा र सुझाव बुझ्ने महत्वपूर्ण अवसरका रूपमा लिएको उनले बताइन्।

उम्मेदवार यादवले विकासमुखी योजना, रोजगारी सिर्जना र सामाजिक सेवामा विशेष ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै वडा स्तरका समस्या र समाधानका उपायबारे स्थानीय नेताहरू तथा बासिन्दासँग छलफल गरिएको थियो।

घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, एमाले पर्साका सचिव महेश दास तथा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र लगायत स्थानीय तथा क्षेत्रीय नेताहरूको उपस्थिति रहेको थियो।

एमालेका तर्फबाट सञ्चालन गरिएको उक्त अभियानले छपकैयामा चुनावी माहोल थप सक्रिय बनेको बताइएको छ।


सम्बन्धित समाचार