१७ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै नेपाली सेनाले आफ्नो सुरक्षा जिम्मेवारी र कार्ययोजनाबारे स्पष्ट पारेको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डाले आइतबार एक विज्ञप्ति जारी गर्दै विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाकै सहभागितामा मतपेटिकाहरू मतगणना स्थलसम्म पुर्याइने जानकारी दिएको हो । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२’ ले निर्दिष्ट गरे बमोजिमको विशेष सुरक्षा घेराभित्र रहेर सेनाले आफ्नो दायित्व निर्वाह गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सेनाका अनुसार मतपेटिका ढुवानीको यो प्रक्रिया नितान्त एक्लो नभई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सम्बन्धित निर्वाचन अधिकृत र राजनीतिक दलका तोकिएका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति र सहभागितामा सम्पन्न हुनेछ। एकीकृत सुरक्षा योजनाको कार्यविधि अनुसार सबै सरोकारवाला निकायहरूसँगको समन्वयमा सेनाको टोलीले सुरक्षित रूपमा मतपेटिकालाई तोकिएको गणना स्थलसम्म पुर्याउने जिम्मेवारी सम्हाल्नेछ। यसले निर्वाचनको निष्पक्षता र सुरक्षा सुनिश्चिततामा थप बल पुग्ने विश्वास सेनाले व्यक्त गरेको छ ।
नेपाली सेनाले २०४८ सालपछिका सबै निर्वाचनहरूमा आफ्नो व्यावसायिक भूमिका प्रदर्शन गर्दै आएको स्मरण गराउँदै यसपटक पनि मतपत्र छपाइ स्थलको सुरक्षादेखि सबै जिल्लाहरूमा मतपत्र ढुवानी गर्ने कार्य गरिरहेको जनाएको छ । निर्वाचनको समयमा तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने संवैधानिक म्यान्डेट अनुसार नै सेना परिचालन हुने र यसले आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउने जङ्गी अड्डाको ठहर छ । निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा प्रोटोकलमा कुनै सम्झौता नहुने समेत सेनाले स्पष्ट पारेको छ ।

















