प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले गत फेब्रुअरी २८ देखि सुरु भएको इरानी सैन्य आक्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार इरानले प्रहार गरेका सयौँ ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरूका कारण भएको क्षतिमा एक नेपाली नागरिकले समेत ज्यान गुमाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था गल्फ न्युजका अनुसार इरानी आक्रमणका क्रममा हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूमा एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन्। मारिएका नेपाली नागरिकको विस्तृत परिचय भने यूएई सरकारले अझै खुलाएको छैन ।

आक्रमणका कारण अन्य ५८ जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा नेपालसहित एमिराती, इजिप्टियन, भारतीय, फिलिपिनो, श्रीलङ्कन र अफगानी लगायत १५ भन्दा बढी देशका नागरिकहरू रहेका छन् ।

यूएईको रक्षा मन्त्रालयले आफ्नो वायुसेना र रक्षा प्रणालीले इरानका तर्फबाट भएका ठूला आक्रमणहरूलाई सफलतापूर्वक निस्तेज पारेको दाबी गरेको छ। प्राप्त तथ्याङ्क अनुसार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएका १६५ मध्ये १५२ वटालाई बीचमै नष्ट गरिएको छ भने बाँकी १३ वटा समुद्रमा खसेका छन्। यसैगरी दुईवटा क्रुज क्षेप्यास्त्रलाई पत्ता लगाई नष्ट गरि इरानले ५४१ वटा मानवरहित विमान (ड्रोन) मार्फत आक्रमणको प्रयास गरेको थियो ।

फेब्रुअरी २८ देखि सुरु भएको यो सिलसिलाले खाडी क्षेत्रमा युद्धको नयाँ मोर्चा खोलेको छ। इरानले यूएईका रणनीतिक महत्त्वका क्षेत्रहरूलाई निशाना बनाएपछि यूएईले आफ्नो प्रतिरक्षा प्रणालीलाई उच्च सतर्कतामा राखेको छ ।

विदेशी श्रमिकहरूको बाहुल्यता रहेको यूएईमा भएको यो हताहतीले त्यहाँ कार्यरत लाखौँ नेपालीहरूको सुरक्षाबारे समेत चिन्ता बढाएको छ। नेपाली दूतावासले मृतकको पहिचान र घाइतेहरूको अवस्थाबारे बुझ्ने प्रयास गरिरहेको बुझिएको छ ।


सम्बन्धित समाचार
भर्खरै