प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि निर्वाचनको ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदानको दिन मतदान कार्य नसकिएसम्म यो अवधि लागु रहनेछ । मौन अवधि सुरु हुनुअघि आज अन्तिम दिन राजनीतिक दल तथा उम्मेदवारहरू चुनावी सभा र घरदैलोमा व्यस्त देखिएका छन् ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा उम्मेदवारहरूबीच प्रतिस्पर्धालाई मर्यादित बनाउन अन्तर्राष्ट्रिय प्रचलन अनुरूप यो अवधिको व्यवस्था गरिएको हो । मौन अवधिमा मतदाताले शान्त वातावरणमा आफ्नो विवेक प्रयोग गरी निर्णय गर्न सकून् भन्ने उद्देश्य राखिएको छ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार र तिनका भ्रातृ सङ्गठनले कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाउने छैनन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार भौतिक रूपमा मात्र नभई सामाजिक सञ्जाल, अनलाइन वा छापा माध्यमबाट समेत कसैको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न पूर्ण रूपमा निषेध गरिएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्रीहरू समेत हटाउन निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिइसकेको छ।

यदि मौन अवधिको पालना नभएमा वा मतदानको अघिल्लो दिनसम्म प्रचारप्रसार जारी राखेमा उम्मेदवारहरूले मतदातालाई अनुचित प्रभावमा पार्ने जोखिम रहने आयोगको ठहर छ ।

आयोगले यस अवधिको कडाइका साथ अनुगमन गरिने र आचारसंहिता उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । मौन अवधिमा प्रचारका सबै गतिविधि शान्त हुने भएकाले मतदानका लागि सहज वातावरण बन्ने र मतदाताहरू उत्साहित भएर मतदान केन्द्रसम्म पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै