प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन, काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको विरोधमा पाकिस्तानका विभिन्न शहरहरूमा आइतबार भएका अमेरिका विरोधी प्रदर्शनले हिंसात्मक रूप लिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

गत शनिबार अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनेईको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले पाकिस्तानका प्रमुख शहरहरू कराँची, लाहोर र इस्लामावादमा प्रदर्शन गरेका हुन् ।

कराँचीमा प्रदर्शनकारीहरू अमेरिकी वाणिज्य दूतावासको नियन्त्रित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरी र सुरक्षाकर्मीसँग भीषण झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले बल प्रयोग गर्दा ठूलो संख्यामा मानवीय क्षति भएको हो ।

रेस्क्यू ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवका अनुसार घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा पुर्‍याइएको छ, जसमा धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

लाहोरमा पनि सयौँको संख्यामा रहेका कार्यकर्ताहरूले अमेरिकी वाणिज्य दूतावास घेराउ गरी नाराबाजी गरेका थिए। प्रदर्शन चर्किएपछि इस्लामावादमा स्थानीय प्रशासनले ‘सेक्सन १४४’ लागू गर्दै सबै प्रकारका भेला र जुलुस प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

सुरक्षा अधिकारीहरूले कानुन उल्लंघन गर्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् भने दूतावास क्षेत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ ।

यसैबीच, इस्लामावादस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै कराँची, लाहोर र पेशावरका वाणिज्य दूतावासहरूमा हुनसक्ने सम्भावित आक्रमण र प्रदर्शनको निगरानी गरिरहेको जनाएको छ ।

दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, भीडभाड हुने स्थानमा नजान र स्थानीय सञ्चार माध्यमहरूको नियमित जानकारी लिन सुझाव दिएको छ । मध्यपूर्वमा विकसित भएको युद्धको बाछिटाले पाकिस्तानमा समेत सुरक्षा चुनौती थपेपछि त्यहाँको जनजीवन त्रसित बनेको छ ।


सम्बन्धित समाचार
भर्खरै