प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौं । भोलि मंगलबारको रात नेपाली आकाशमा एउटा सुन्दर खगोलीय दृश्य देखिने भएको छ ।

सन् २०२६ मा विश्वभर लाग्ने विभिन्न ग्रहणहरूमध्ये नेपालबाट अवलोकन गर्न सकिने यो पहिलो खण्डग्रास चन्द्रग्रहण हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार, चन्द्रमा उदाउने समयसँगै ग्रहणको प्रक्रिया पनि सुरु हुनेछ, जसले गर्दा साँझको समयमा पूर्वी क्षितिजमा चन्द्रमा अलिक भिन्न र आकर्षक देखिनेछ ।

विशेष गरी राति ७ः०२ बजेसम्म रहने यो ग्रहणको रमिता हेर्न कुनै महँगो टेलिस्कोप वा विशेष उपकरणको आवश्यकता पर्ने छैन । यदि मौसमले साथ दिएमा र आकाश सफा रहेमा नेपालका हिमाल, पहाड र तराईका सबै भूभागबाट सर्वसाधारणले आफ्नै आँखाले यो दृश्यको आनन्द लिन सक्नेछन् । सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले घरको छत, खुला चौर वा वरपरका डाँडाहरूबाट ग्रहण स्पष्ट देखिने जानकारी दिँदै साँझको समयमा अलि उचाइ भएको ठाउँबाट अवलोकन गर्नु बढी प्रभावकारी हुने सुझाव दिएका छन् ।

वैज्ञानिक दृष्टिकोणले हेर्दा, सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुग्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यद्यपि हरेक पूर्णिमामा चन्द्रमा, सूर्य र पृथ्वी एउटै रेखामा परे जस्तो देखिए पनि चन्द्रमाको कक्षीय झुकावका कारण सधैँ ग्रहण लाग्दैन । प्राचीन ज्योतिषशास्त्रमा राहु र केतुका रूपमा व्याख्या गरिने खगोलीय बिन्दुहरू र आधुनिक विज्ञानको छायाँको खेलले सिर्जना गर्ने यो प्राकृतिक दृश्यले यतिबेला धेरैमा उत्साह जगाएको छ ।


सम्बन्धित समाचार
भर्खरै