प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच खाडी क्षेत्रका ६ वटा शक्तिशाली मुलुकहरूले इरानलाई तत्काल आफ्ना सैन्य आक्रमणहरू बन्द गर्न कडा चेतावनी दिएका छन् ।

खाडी सहयोग परिषद् (जीसीसी) मा आबद्ध संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरेबिया, ओमान, कतार र कुवेतले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै इरानको पछिल्लो कदमले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर खलल पुऱ्याएको निष्कर्ष निकालेका हुन् ।
इरानले गरेका आक्रमणहरूले मानवीय बस्ती र सर्वसाधारणलाई समेत निशाना बनाएको भन्दै ती राष्ट्रहरूले यसलाई अन्तर्राष्ट्रिय कानुन र मुलुकको सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेपको संज्ञा दिएका छन् ।

उत्तेजक गतिविधि नगर्न चेतावनी

जीसीसी सदस्य राष्ट्रहरूको आकस्मिक बैठकले इरानद्वारा हालै गरिएका हमलाहरूबाट भएका भौतिक तथा मानवीय क्षतिबारे विस्तृत छलफल गरेको थियो । बैठकपछि जारी गरिएको वक्तव्यमा इरानको यस्तो प्रवृत्तिको कडा निन्दा गर्दै छिमेकी मुलुकहरूको सीमा र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरिएको छ । विशेष गरी आवासीय क्षेत्रहरूमा भएका प्रहारहरूले मानवीय संकट निम्त्याउन सक्ने भन्दै ती देशहरूले इरानलाई थप उत्तेजक गतिविधि नगर्न सचेत गराएका छन् ।

इरानले आफ्नो आक्रामक रवैया तत्काल नरोकेमा खाडी मुलुकहरू आफ्नो रक्षाका लागि जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, ६ वटै राष्ट्रले आफ्नो सुरक्षा र अखण्डता जोगाउन आवश्यक परेमा सामूहिक रूपमा कडा प्रतिकार गर्ने नीति लिएका छन् । यसैबीच, नेपालले पनि मध्यपूर्वको यो बिग्रँदो परिस्थितिलाई ध्यानमा राख्दै सबै पक्षलाई संयमता अपनाउन र समस्याको समाधान कूटनीतिक संवादमार्फत खोज्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै